ताप्लेजुङमा दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या

३१ श्रावण २०७५, बिहीबार १५:३४

साउन ३१, काठमाडौं ।

ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन् । कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।

कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन् । तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए । तर, बुधबार साँझ उनको मृत्यु भयो ।

अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो ।

करिब परिवारका कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटनाबारे जानकारी दिँदै वडा नम्बर २ का वडाध्यक्ष ज्ञानप्रसाद दाहालले भने- ‘उनको मति बिगि्रएर यस्तो कुकर्म गरेकी होलिन् ।’

कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको भनिए पनि उनी माइतमै बस्दै आएकी थिइन् ।