एक घरमा ११ जनाको शव भेटिएपछि सनसनी, हत्याराको कुनै सुइँको छैन

२२ श्रावण २०७५, मंगलवार १६:१७

साउन २२, काठमाडौं । एजेन्सी

मेक्सिकोको उत्तरी चिहुआहुआमा सिउडाड जुआरेजस्थित एक घरमा शुक्रवार ११ जनाको शव भेटिएपछि सनसनी मच्चिएको छ । मेक्सिको प्रहरीका अनुसार, शव हेर्दा ती मानिसलाई घरभित्र बन्धक बनाएर यातना दिइएको थियो ।

समाचार संस्था आईएएनएसका अनुसार, जुआरेजका नगरप्रमुख अर्माडो क्याबेडाले स्थानीय प्रेसलाई बताएअनुसार, मृतकमा तीन महिला र आठ पुरुष छन् । मृतकहरूलाई ड्रग समेत दिइएको थियो ।

प्रहरीले घटनास्थल निरीक्षण गरेर प्रमाण जुटाउने कोशिश गरिरहेका छन् । शुरूआती रिपोर्टअनुसार, सबै मानिसलाई गोली हानिएको छ ।

मृतकका छिमेकीहरूले उक्त घरमा कोही नबस्ने तर त्यहाँ प्रायः पार्टीहरू हुने गरेको बताएका छन् । धेरै मानिस त्यहाँ आवतजावत गर्थे ।

सबै शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरी अधिकारी र विज्ञहरू घटनाको छानबिन गरिरहेका छन् । हत्याराको कुनै सुइँको पाइएको छैन ।