दीपकराज जोशी भावी प्रधानन्यायाधी बन्लान ? यस्ता छन् कारणहरु ;

१४ श्रावण २०७५, सोमबार १२:४३

साउन १४, काठमाडौं ।

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ ।


समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि प्रमाणपत्र लगायका विषयमा विवाद देखिएपछि आजको लागि सारिएको थियो । उद्यपी आइतबारको बैठक सारिँदमा दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर भएको कारण देखाइएको थियो ।

फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै जोशीमाथि सांसदहरु असन्तुष्ट रहेका छन् ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।

  •  राजीनामा दिएर निकाश निकाल्न सन्देश

प्रधानन्यायाधीशका लागि सिफारिस भएका जोशीलाई सत्तापक्षले भने राजीनामा दिएर निकाश निकाल्न सन्देश दिएको जानकारी भएको छ ।

सत्तारुढ दल नेकपाको उच्च स्रोतले जोशीलाई राजीनामा दिएर देखिएको समस्याको समाधान गर्न सन्देश पठाइएको बताए ।

‘नेपालको न्यायिक इतिहासमा सुनुवाईबाट अनुमोदन नभएका प्रधानन्यायाधीशका रुपमा आफ्नो नाम नलेख्न भनेर हामीले राजीनामा दिन सन्देश पठाएका छौं,’ नेकपाको उच्च स्रोतले भन्यो ।

कामु प्रधानन्याधीश जोशीले पदबाट राजीनामा नदिए सोमवारको संसदीय सुनुवाई विशेष समितिको बैठकबाट उनको नाम अनुमोदन हुने संभावना कम छ ।

सुनुवाइ समितिमा नेकपासहित संसदीय फोरम गरी सक्षापक्षको दुईतिहाइ बहुमत छ । समितिका दुईतिहाइ सदस्यले जोशीको नाममा असहमति जनाए उनको अनुमोदन हुन सक्दैन ।