साउन १३, काठमाडौं ।
राजविराज नगरपालिकाले नागरिकता सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । चालू आर्थिक बर्षदेखि नागरिकता सिफारिस वापत लाग्ने दस्तुर पुरै मिनाहा गरिएको नगरपालिकाका प्रमुख शम्भु यादवले बताए । उनले नागरिकको मौलिक हक भएकाले नागरिकता सिफारिस दस्तुर पुरै मिनाहा गरिएको बताए ।
यसैगरी नगरपालिकाले सडक अतिक्रमण गरी कठघरा राखेमा १ हजार ५ सय, ठेला राखेमा एक हजार र अन्य सामग्री राखेमा ५ सय रुपैयाँ जरिवाना लिने निर्णय पनि गरेको छ । सार्वजनिक स्थल बाटोघाटोमा घर निर्माणमा निस्केको मलवा सामग्रीहरु राखेमा २४ घण्टाभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यक्तिलाई सूचना दिने र नउठाएमा पछि नगरपालिकाले उठाउने तर त्यस वापत ५ सय रुपैयाँ दस्तुर लिने निर्णय गरेको छ ।
नगरपालिकाले छाडा, गाईवस्तु नियन्त्रणका लागि पनि जरिवाना निर्धारण गरेको छ । छाडा, गाईवस्तुलाई समातेर कान्जी हाउसमा ल्याएको पहिलो दिन नगरपालिकाले सम्बन्धित धनीसँग २ सय रुपैयाँ जरिवाना लिनेछ ।
दोस्रो दिन समातेमा २ सय ५०, तेस्रो दिन ३ सय, चौथो दिन ३ सय ५०, पाँचौ दिन ४ सय, छैठौं दिन ४ सय ५०, सातौ दिन ५ सय रुपैयाँ लिने र त्यसपछि लिलामी प्रकृयामा लग्ने नगरपालिकाले जनाएको छ ।
लिलाम प्रकृयामा जानुअघि धनी आएमा १ हजार रुपैयाँ जरिवाना लिने निर्णय भएको यादवले जानकारी दिए ।
-
बहाल कर १० प्रतिशत
नगरपालिकाले टाँगा, रिक्सा, अटोरिक्सा तथा इ-रिक्सा बाहेक अन्य सवारी साधनमा पूर्ण रुपले कर छुट गरेको जनाएको छ । स्थानीय तहको आर्थिक ऐन, २०७५ को दफा ७ बमोजिम कायम भएको सवारी साधन कर स्थानीय सरकार संचालन ऐन, २०७५ को ६४ को उपदफा १ (क) मा व्यवस्था भए अनुसार दर निर्धारण तथा संकलन प्रदेशले गर्ने भएकाले कर छुट गरिएको हो ।
यद्यपी मदिरा व्यवसाय, स-मिल, इँटा उद्योग व्यवसाय, सुर्तीजन्य उद्योग व्यवसाय तथा चुरोट व्यवसाय करको साविक दरमा ५० प्रतिशतले बृद्वि गरिएको छ ।
