कामु प्रधानन्यायाधीश जोशीका बारेमा पुन: बैठक बसेर निर्णय लिने

१० श्रावण २०७५, बिहीबार १८:३९

साउन १०, काठमाडौं ।

संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको छ ।

संसद सचिवालय सिंहदरवारमा बिहीवार दिउँसो भएको सुनुवाइका क्रममा सांसदहरूले जोशीलाई शैक्षिक प्रमाणपत्र र उनले विगतमा दिएका आदेशलगायतका विषयमा प्रश्न गरेका थिए ।

नेकपाका सांसद सुरेन्द्र पाण्डेले सर्वोच्चको आदेशका कारण सडक विस्तार रोकिएको भन्दै प्रधानन्यायाधीशलाई थानकोटतिर घर बनाइदिनुपर्‍यो भनेर व्यंग्य गरे । ‘सडकलगायत विकास निर्माणका काममा ‘स्टे अर्डर’ धेरै भयो,’ पाण्डेले भने– ‘सर्वसाधारणले श्रीमानहरूको घर थानकोट-नागढुंगातिर बनाइदिनुपर्ला भनेर व्यंग्य गर्ने गरेका छन् ।’

कलंकी-थानकोट सडकखण्डमा सर्वोच्चका दर्जनौं ‘स्टे अर्डर’का कारण समयमै काम गर्न नसकिएको ठेकेदेरहरूले बताउने गरेका छन् ।

जवाफमा कामु प्र.न्या जोशीले सरकारले न्यूनतम मुआब्जासमेत नदिएकाले समस्या निम्तिएको बताए । सरकारले पीडितहरूलाई न्यूनतम मुआब्जा त उपलब्ध गराउनुपर्‍यो नि ! भन्ने अदालतको राय रहेको उनको भनाइ थियो ।

यस्तै पाण्डेसहितका अधिकांश प्रश्नकर्ताले जोशीको प्रमाणपत्रका सम्बन्धमा विवाद देखिएको भन्दै न्यायाधीशहरूको प्रमाणपत्र किन यसरी विवादमा आउँछन् ? भनेर प्रश्न गरेका थिए । यसको प्रतिक्रियामा जोशीले आफ्नो प्रमाणपत्रको प्रतिलिपि समितिलाई बुझाए ।

नेकपाकै सांसद योगेश भट्टराईले अदालतले दोषी ठहर गरेका र अपराधी भनिएका व्यक्तिहरू कामु प्र.न्या जोशीकी छोरीको इन्गेजमेन्टमा सहभागी भएको प्रसंग उल्लेख गर्दै तिनीहरू तपाईंका आफन्त हुन् कि केही सम्बन्ध छ भन्दै प्रश्न गरे ।

यसैगरी कांग्रेसका भीमसेनदाश प्रधानले अदालतमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्र गर्न के गर्ने भन्ने विषय कार्ययोजनामा समेट्नुभएन छ नि ! भन्दै प्रश्न गरे । सुनुवाइको शुरूमा नै जोशीलाई कार्ययोजना प्रस्तुत गर्न लगाइएको थियो ।

यसका अतिरिक्त सांसदहरूले एनसेल, क्यासिनो, एनआरएनसम्बन्धित मुद्दामा कानून प्रतिकूल हुनेगरी फैसला गरेको, न्यायालयमा बिचौलियाहरूको बिगबिगी भएको, न्याय प्रणाली परम्परागत नै रहेको लगायतका विषय उठाएका थिए ।

साथै सांसदहरूले छोराको विवाहमा ९० लाख रुपैयाँ खर्च गरेको तथा छोरीको इन्गेजमेन्टमा उपहार दिएको सम्बन्धमा पनि प्रश्न गरेका थिए । जोशीविरुद्ध छोराको विवाहमा ९० लाख खर्च गरेको उजुरी परेको थियो ।

जवाफमा जोशीले आफूमाथिका आरोपको खण्डन गरेका थिए । जोशीको संसदीय सुनुवाइ सकिएको छ । समितिले शुक्रबार दिउँसो ३ बजे पुन: बैठक बसेर जोशीका सम्बन्धमा निर्णय लिने जनाइएको छ ।