पाइन्ट खोलेर बोलेका अमेरिकी सांसदले दिने भए राजीनामा (हेर्नुस् भिडियो)

९ श्रावण २०७५, बुधबार १५:३७

साउन ९, काठमाडौं । एजेन्सी

अमेरिकाको जर्जिया राज्यका सांसद जेसन स्पेन्सरले जुलाई महिनाको अन्त्यमा राजीनामा दिने जर्जिया हाउस स्पीकर डेभिड राल्स्टोनले बताएका छन् ।

स्पेन्सर हलिउड कलाकार साचा ब्यारोन कोहेनको टीभी शो हु इज अमेरिकामा देखापरेका थिए । आइतवार प्रसारण गरिएको एपिसोडमा कोहेन इजरायलका सैन्यविज्ञका रूपमा देखा पर्छन् र स्पेन्सरलाई अनेकौं हर्कत गर्न लगाउँछन् ।

सांसदलाई प्रतिआतंकवादी भिडियो बनाउन लगाइएको बताइन्छ । त्यसक्रममा स्पेन्सरले लगातार काला जातिका मानिसलाई होच्याइने शब्द निगर उच्चारण गर्छन् । यो छेउमा उभिएका मानिसको ध्यान आकर्षण गर्ने तरिका हो भनी कोहेनले स्पेन्सरलाई बताउँछन् ।

स्पेन्सर त्यसपछि आफ्नो पाइन्ट र कट्टु समेत खोलेर यताउता दौडँदै यूएसए र अमेरिका भन्दै चिच्याउँछन् । यसो गर्दा समलिंगीलाई घृणा गर्ने जिहादीहरूमा डर उत्पन्न हुने कोहेनले बताउँछन् ।

त्यसक्रममा स्पेन्सरले एसियालीले बोल्ने जस्तो उच्चारण गर्दै मुसलमान महिलाको बुर्काभित्र क्यामरा फोन घुसाउनका लागि सेल्फीस्टिक प्रयोग गरेको बहाना गर्छन् ।

कोहेनले उनलाई सम्भावित आक्रमणप्रति मानिसको ध्यान खिच्न यो तरिका उपयोगी हुने बताउँछन् । सोमवार एक वक्तव्य निकाल्दै स्पेन्सरले यो ‘मूर्खतापूर्ण घिनलाग्दो एपिसोड’ का लागि माफी मागे र राजीनामा दिन अस्वीकार गरे ।

तर राल्स्टोन तथा अन्यले शो प्रसारण हुनेबित्तिकै उनको राजीनामा मागे । उनले रिपब्लिकन प्राइमरी चुनाव गत मे महिनामा हारेको भएपनि नोभेम्बरमा हुने चुनावसम्म सार्वजनिक कार्यालयमा बस्न पाउँथे ।

(हेर्नुस् भिडियो)