विश्वविद्यालयमा चुम्बनको तस्वीरले मच्चायो हंगामा, सामाजिक सञ्जालमा भाइरल

९ श्रावण २०७५, बुधबार १२:५०

साउन ९, काठमाडौं । बीबीसी

बंगलादेशको राजधानी ढाकामा बर्खाका बेलामा लिइएको एक तस्वीरले सामाजिक सञ्जालमा बहस तताएको छ ।

विश्वविद्यालयका विद्यार्थीहरूको निजी पलका केही तस्वीर भाइरल भए । तस्वीरमा छात्रहरू किस गरिरहेका देखिन्छन् ।

यसको खुबै आलोचना भइरहेको छ । यो विवाद फोटो जर्नलिस्ट जीबन अहमदले जन्माएका हुन् ।

जीबनले सोमवार विश्वविद्यालय क्याम्पसमा एक जोडीले चुम्बन गरेको फोटो खिचेका थिए ।

पछि उनले तस्वीर आफ्नो फेसबूक पेजमा शेयर गरे ।

फोटोग्राफरले युवा जोडीको तस्वीर सामाजिक सञ्जालमा हाल्न अनुमति लिएका थिए त भन्ने ठूलो प्रश्न हो ।

जीबनले बीबीसीलाई बताएअनुसार, उनले कुनै पनि जोडीसँग फोटो खिच्न र त्यसलाई सामाजिक सञ्जालमा प्रयोग गर्ने अनुमति लिएका थिएनन् ।

तर जोडीहरूले तस्वीर खिचिरहेको देखेको उनको दाबी छ । जीबन भन्छन्, ‘फोटो खिचाउँदा उनीहरूले आपत्ति उठाएनन् ।’

जीबनलाई सोधियो, ‘कसैले आपत्ति उठाएन भन्दैमा उनीहरूको अनुमति पाएको हो भन्न मिल्छ ?’

जीबनले जवाफ दिए, ‘मैले यो तस्वीर फेसबूकमा पोस्ट गर्दा भाइरल होला जस्तो लागेको थिएन ।’

पछि उनले फेसबूकबाट तस्वीर हटाए ।

ढाका विश्वविद्यालयका प्राध्यापक फहमिदुल हकले कसैका निजी क्षणलाई क्यामरामा कैद गर्नुअघि अनुमति लिनुपर्ने बताए । अनि सामाजिक सञ्जालमा ती तस्वीर प्रयोग गर्नलाई त झन् छुट्टै अनुमति लिनुपर्छ ।

उनले भने, ‘तस्वीरका कारण दुवैजनालाई समाजमा समस्या आउँछ । यसले गर्दा उनीहलाई सुरक्षामा पनि खतरा आउँछ ।’

सार्वजनिक रूपमा यसरी किस गरेको विषयमा नकारात्मक टिप्पणीहरू आएका छन् । बंगलादेशका सामाजिक मूल्यको दुहाई दिँदै मानिसले जोडीको आलोचना गरे ।

धेरै मानिसले फोटोग्राफरको गैरजिम्मेवार काममा पनि प्रश्न उठाए ।

केही मानिसले जोडीको प्रशंसा गर्दै प्रेमको सहज अभिव्यक्ति बताए ।

केही मानिसले चाहिँ तस्वीरमा छेडछाड गरिएको बताए । तस्वीरको पृष्ठभूमि परिवर्तन गरिएको दाबी समेत भयो ।

तर फोटोग्राफर जीबन अहमदले यी दाबीको खण्डन गरेका छन् । तस्वीरमा कुनै सम्पादन नगरिएको उनको भनाइ छ ।

‘तस्वीर लिनका लागि विशेष लेन्सको उपयोग गरिएकाले पृष्ठभूमि अलिक फरक देखिएको हो,’ उनले भने ।