साउन ८, काठमाडौं ।
कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका थिए ।
(हेर्नुस् भिडियो)
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए । यसको सर्वत्र आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आफूले विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे । यसको उनको अझ आलोचना भयो ।
सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले सोमबार साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
