असार २८, काठमाडौं ।
बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।
अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको हो ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।
काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । काभ्रेस्थित पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे ।
