डोनल्ड ट्रम्पले आणविक निःशस्त्रीकरणमा चीनमाथि शंका गरे

२६ असार २०७५, मंगलवार ०९:५८

असार २६, काठमाडौं । एजेन्सी

सिंगापुरमा अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ–उनबीच भएको ऐतिहासिक भेटवार्तापछि पनि आणविक निःशस्त्रीकरणको स्थिति स्पष्ट हुन सकेको छैन ।

त्यति मात्र नभई उत्तर कोरियाका परराष्ट्रमन्त्रीले अमेरिकामाथि ग्याङस्टरले जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

यसैबीच ट्रम्पले किममाथि विश्वास देखाएका छन् भने चीनमाथि चाहिँ शंका गरेका छन् ।

उनले एक ट्वीट लेख्दै किमले हस्ताक्षरित सम्झौताको सम्मान गर्ने विश्वास लिएको लेख्दै चीनले यस सम्झौतामा नकारात्मक दबाब दिने कोशिश गर्न सक्ने आशंका गरे ।

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले उत्तर कोरियासँग वार्ता गरेर त्यो सफल भएको बताइरहँदा ट्रम्पको यस्तो टिप्पणी आएको हो । पम्पिओले उत्तर कोरियालीहरूसँगको भेटघाटमा प्योङयाङ एक क्षेप्यास्त्र उत्पादन केन्द्र ध्वस्त पार्न सहमत भएको बताएका थिए ।

तर उत्तर कोरियाले आणविक हतियार कार्यक्रम पूरै नष्ट नगरुन्जेलसम्म उसका विरुद्ध प्रतिबन्ध कायम रहने पनि उनले बताएका थिए ।