असार २५, काठमाडौं ।
त्रिशूली नदीबाट अवैध रुपमा बालुवा दोहन गर्न रोक लगाएको भन्दै धादिङको गल्छी गाउँपालिकाका जनप्रतिनिधि माथि सामूहिक आक्रमणको प्रयास भएको छ ।
गल्छी गाउँपालिकाभित्र पर्ने त्रिशूली नदीबाट अवैध रुपमा बालुवा निकालेर महंगो मूल्यमा बिक्री गर्दै आइरहेको समूहले शनिबार गल्छी गाउँपालिकाको कार्यालय बैरेनी बजारमा कार्यपालिकाको बैठक बसिरहेको बेला आक्रमण प्रयास गरेको हो ।
गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर गल्छी–४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र गल्छी ६ का अर्जुनलाल श्रेष्ठको समूहबाट गम्भीर खतरा रहेको भन्दै सुरक्षा प्रवन्ध गरिदिन अनुरोध गरेको छ ।
गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु आफैं उपस्थित भई कार्यालयमा दिएको उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालयलाई तत्काल आवश्यक छानविन गरी दोषिमाथि कारवाही गर्न निर्देशन दिइसकेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।
गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिनाका साथै ८ वटै वडाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु बैठक बसिरहेको बेला बालुवाको बिषयमा छलफल गर्न कार्यालयमा पुगेका गल्छी-४ का केशव अधिकारीको नेतृत्वमा आक्रमण प्रयास भएको गाउँपालिकाका पदाधिकारीहरु बताउँछन् ।
गल्छी गाउँपालिकामा लामो समयदेखि नदीलाई कब्जा गरी बालुवा झिकेर बिक्री गर्ने गिरोह सक्रिय रहँदै आएको छ । गाउँपालिका अध्यक्ष लगायतको टोलीलाई हातपात गर्न जाने नेतृत्व गरेका केशव अधिकारी तत्कालीन नेकपा एमालेबाट गल्छी ४ नम्बर वडाको अध्यक्ष पदमा झिनो मतले पराजित व्यक्ति हुन् । गाउँपालिकाको सबै तहमा एमालेका उम्मेदवार विजयी भएकोमा अधिकारी मात्रै पराजित हुन पुगेका थिए । अधिकारी नेकपाका नेता राजेन्द्र पाण्डेनिकटका भनेर चिनिन्छन् ।
धादिङको गल्छीमा मात्रै होइन, गजुरी, बेनीघाटरोराङ गाउँपालिकामा समेत सार्वजनिक स्थल, नदी खोला बगर कब्जा गरी अवैध ढंगबाट बालु्वा उत्खनन गर्ने गिरोह सक्रिय छ ।
