चोरी तथा पाकेटमारीमा ‘किशोर’हरु बढी संलग्न

२२ असार २०७५, शुक्रबार ०८:५८

असार २२, काठमाडौं ।

पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो ।

महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा चोरी तथा पाकेटमारीमा संलग्न ५ जना समातिए । तीमध्ये ३ जना किशोर छन् भने १ जना २० र अर्का एक ३९ वर्षका युवा छन् ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले पकेटमारी तथा चोरी गर्ने गरेको खुलेको छ ।

महानगरीय प्रहरीले जनाएअनुसार रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा १९ वर्षीय प्रतीक बस्नेत, वर्ष १९ कै पवनराज गिरी र उदयपुर कटारी नगरपालिका १२ का १७ वर्षीय राजकुमार बस्नेत पक्राउ परेका छन् ।

त्यसैगरी प्रहरीले पाकेटमारीमै संलग्न २० वर्षीय विनोद खड्का र ३९ वर्षीय अल्लाद दासलाई पक्रेको छ । यिनीहरु एक साताको बीचमा गौशाला क्षेत्रभित्रबाट समातिएका हुन् ।