असार २१, काठमाडौं ।
मन्त्रिपरिषद्को बैठकले शेरबहादुर देउवाको सरकारले भदौपछि गरेका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद पनि धरापमा परेको छ । बोर्डले नेपाली चलत्रिमा बक्स अफिस लागू गर्ने अन्तिम तयारी गरिरहेको समयमा उनले पदबाटै हात धुनुपर्ने अवस्था आएको हो ।
यस विषयमा प्रतिक्रिया माग्दा उनले सरकारको आधिकारिक पत्र आएपछि आफ्नो निर्णय लिने बताइन् । निकिताले भनिन्-‘अहिलेसम्म सरकारको आधिकारीक पत्र आएको छैन । पत्र आएपछि के गर्ने सोच्नेछु ।’
के तपाई अदालत जानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘मैले त्यो बारेमा अहिले सोचेकी छैन । सरकारको निर्णयमा मैले नकारात्मक सोच पालेकी छैन । आधिकारिक पत्रको पर्खाइमा छु ।’
चलचित्र विकास बोर्डमा आएसँगै निकिताले बक्स अफिस लगाउनका लागि महत्वपूर्ण कदम चालेकी छिन् । साउन १ गतेबाट काठमाडौमा बक्स अफिस लगाउने अन्तिम तयारी छ । तर, बोर्ड प्रमुख फेरिने भएपछि अब बक्स अफिस के होला भन्ने प्रश्नसमेत उब्जिएको छ । निकिता भन्छिन्-‘बक्स अफिस लागू गरी छाड्ने मेरो एउटै उद्देश्य थियो । यदि यो लागू हुन सकेन भने मलाई दुःख लाग्नेछ ।’
सूचना तथा संचार मन्त्रालयका सचिवले आधिकारिक पत्र नआएसम्म काम गरिराख्न भनेकाले पनि निकिता कार्यलयमा हाजिर भएकी छिन् ।
चलचित्र विकास बोर्डमा पहिलो महिला अध्यक्षको रुपमा नियुक्त भएपछि चर्चामा आएकी निकिता बक्स अफिस लागू गरेर आफ्नो कार्यकाल स्मरणीय बनाउने ध्याउन्नमा थिइन् ।
