असार २०, काठमाडौं । एजेन्सी
बेलायती महारानी एलिजाबेथको स्वास्थ्य खराब भएकाले अघिल्लो हप्ता सेन्ट पल क्याथेड्रलमा भएको समारोहमा उनले भाग लिइनन् ।
यसैबीच बेलायती सरकारका केही मन्त्रीले महारानीको निधनपछि राखिने शोकसभाका लागि गोप्य तरिकाले अभ्यास गरेको द सन्डे टाइम्स पत्रिकाले दाबी गरेको छ ।
क्यासल डोभ नामक पूर्वाभ्यासमा अनेकौं मन्त्री र अधिकारी उपस्थित रहेको पत्रिकाको दाबी छ । बेलायतको इतिहासमा पहिलोपटक राजपरिवारको कुनै सदस्यको मृत्युअघि नेताहरूले प्रशासनिक अधिकारीसँग चर्चा गरेको पहिलोपटक हो ।
अघिल्लो वर्ष द गार्डियन पत्रिकाले महारानीको निधनपछि राजमहल र सरकारका तर्फबाट उठाइने कदमका बारेमा जानकारी दिएको थियो । निधनपछि सबभन्दा पहिले काउन्सिलमा राजगद्दीमा को बस्ने भन्ने विषयमा चर्चा हुनेछ ।
त्यसपछि बकिंघम प्यालेसले महारानीको निधनको सूचना सार्वजनिक गर्नेछ । रेडियो र टीभी स्टेसनहरूलाई पृष्ठभूमिमा शोक संगीत बजाउने सल्लाह दिइनेछ ।
अनि महारानीको शव वेस्टमिन्स्टर हलमा राखेर श्रद्धाञ्जलि दिइनेछ ।
