शिक्षिकाको टाउको लिएर गाउँमा दौडियो हत्यारा, मान्छेको भागाभाग

२० असार २०७५, बुधबार ०९:०५

असार २०, काठमाडौं । एजेन्सी

भारतको झारखण्डस्थित सरायकेला–खरसावाँ जिल्लामा मंगलवार एक सरकारी विद्यालयमा ५० वर्षीया शिक्षिकालाई एक युवकले टाउको काटेर हत्या गरेको खबर छ ।

हत्यापछि उक्त युवक शिक्षिकाको काटिएको टाउको लिएर गाउँमा दौडिएको थियो । यो देखेका गाउँलेहरू आत्तिएर भागाभाग गरे ।

शिक्षिका सुकरू हेसाले विद्यार्थीहरूलाई फिजिकल ट्रेनिङका बारेमा जानकारी दिइरहेकी थिइन् । त्यतिखेर २० वर्षीय आरोपी हरि हेम्ब्राम खपरसाय मिडल स्कूलमा चिच्याउँदै पुगे ।

प्रत्यक्षदर्शीहरूका अनुसार, उनले शिक्षिकालाई भुइँमा लडाए । अनि तरवारले उनीमाथि आक्रमण गरे । शिक्षिकाको घटनास्थलमै मृत्यु भयो ।

आरोपी हेम्ब्रामले त्यसपछि तरवार र काटिएको टाउको लिएर गाउँमा दौडिन थाले ।

प्रहरीले हत्याको कारणका बारेमा सोधखोज गरिरहेको छ । आरोपी मानसिक रोगी हुनसक्ने प्रहरीको भनाइ छ ।