असार १९, काठमाडौं ।
रुसमा जारी विश्वकप फुटबलमा आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछ ।
आज प्रि–क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।
आज हुने पहिलो खेलमा स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शुरु हुनेछ ।
सेन्ट पिटर्सवर्गमा हुने खेलमा दुवै टोलीको लक्ष्य अन्तिम आठमा पुग्नु हुने छ । दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । कोलम्बिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ११ः ४५ मा शुरु हुनेछ ।
योसँगै क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो हुने छ । जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् ।
अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।
