सालको रुख ढल्दा बालिकाको मृत्यु

१९ असार २०७५, मंगलवार ०८:३०

असार १९, काठमाडौं ।

व्यास नगरपालिका–६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा बालिकाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरू १२ वर्षीया अस्मिता र ८ वर्षीया सोनिसा छन् ।

घाइतेलाई अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् ।

सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताए । वर्षाका कारण जमिन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ ।