दिल्लीको सामूहिक आत्महत्या घटनामा ‘११’ अंकको कनेक्सन

१९ असार २०७५, मंगलवार ०७:०२

असार १९, काठमाडौं । एजेन्सी

एघार पाइप, ११ कोण, ११ झ्याल र घरमा ११ लाश । दिल्लीको सन्तनगरमा भएको सामूहिक आत्महत्याको घटनामा रहस्य र कालो जादूको आशंका थप गहिरिएको छ ।

प्रहरीले घरको खानतलाशी गर्दा ११ अंकसँग जोडिएका रहस्य खुल्दै जाँदा मानिसहरू छक्क परेका छन् । सामूहिक आत्महत्यालाई यही ११ अंकसँग जोडेर हेरिएको छ ।

घरको भित्तोमा प्लास्टिकका ११ वटा ठूला पाइप भेटिएका छन् । यी पाइपहरू भुइँतल्लाको भित्तोसँगैको खाली प्लटतर्फ निस्केका छन् ।

 

अलिक परपर हुन्थे भने मानिसले शंका पनि गर्दैनथिए होलान् । तर दुई पाइप एक फूटको दूरीमा छन् भने अन्य पाइप नजिकनजिकै छन् । तीमध्ये चार पाइप सीधा छन् भने सातवटा चाहिँ अलिकति मोडिएका छन् ।

 

अनि घरको फलामे ढोकामा ११ कोणका प्रकाश छिर्ने प्वालले पनि प्रहरीलाई छक्क पारिदिएको छ । यो संयोग मात्र हो कि ११ जनाको मृत्युसँग यसको कनेक्सन छ भनी प्रहरी खोजिरहेको छ ।

 

अनि छतको रेलिङमा पनि फलामका ११ वटा रड छन् । अनि घरमा ११ वटा झ्याल छन् । माथिल्लो तल्लामा डेढ वर्षदेखि भइरहेको निर्माणमा पनि ११ अंक देखिन्छ ।

त्यसैले यो घरमा भएका ११ जनाको मृत्युमा ११ अंकको गहिरो कनेक्सन छ । प्रहरीले यो संयोग मात्र भएको वा कुनै तान्त्रिक क्रियाको हिस्सा हो भन्ने कुरा हेर्दैछ ।

अन्तिम समयमा कुनै सन्देश कतैबाट पाएर एकसाथ पूरै परिवार सजिलै मृत्युपाश लगाउन तयार भएको हो कि भन्ने देखिएको छ । प्रहरीका अनुसार, अहिलेसम्मको घटनाक्रम हेर्दा मिहिन योजना बनाएर यो कदम उठाइएको हो ।

अन्तिम समयमा सबैजना लाइन लागेर स्टूलमा उभिएका अनि नोटमा लेखिएको निर्देशनअनुसार डोरीलाई घाँटीमा कसेर बसेका हुन सक्छन् । त्यसपछि कुनै व्यक्तिले उनीहरूलाई हाम्फाल्न लगाएपछि सबैले स्टूललाई एकातिर लडाएर
फाँसी चढेका हुन सक्छन् ।

प्रहरीले अनुसन्धान गर्दा पूजाघरबाट नौवटा मोबाइल फोन बरामद भएका छन् । अनि एउटा आईप्याड पनि भेटिएको छ । यी सबै फोन लक छन् प्रहरीले एक्सपर्टको सहायताले अनलक गराउने प्रयास गरिरहेको छ ।

यस घटनामा तन्त्रमन्त्र, मोक्ष, रीतिरिवाज र अघिल्ला केही महिनाहरूको तिथिको उल्लेख छ । पूजामा प्रयोग भएको घिउ र चामल पनि घरमा भेटिएका छन् । प्रहरीले यसमा कुनै तान्त्रिक वा साधुको भूमिका हुनसक्ने बताएको छ ।