पर्यटकीय सम्भावनाको ओझेलमा परेको गुल्मीको ‘दारेढुंगा’

१८ असार २०७५, सोमबार ०६:४६

असार १८, काठमाडौं ।

संरक्षण र प्रचार प्रसारको अभावमा गुल्मीको एक पर्यटकीय स्थल ओझेलमा परेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका–१३ मा रहेको पर्यटकीय स्थल भँगारी भवने डाँडा (दारेढुङ्गा) ओझेलमा परेको हो ।

२०६८ सालमा पर्यटन मन्त्रालयले उपलब्ध गराएको १५ लाख बजेटले विभिन्न संरचनाहरु निर्माण गरिएका थिए । तर ती संरचनाहरु यतिबेला जीर्ण बनेका छन् ।

 

पर्यटकीय सम्भावना बोकेको दारेढुंगा पुग्न ०६९ सालमा रु १० लाखमा मोटर बाटो समेत लगिएको थियो । तर चहल पहल शून्य छ । पिकनिक स्थल वनमाराले ओगटेको छ ।

 

निर्माण गरिएको पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसारका लागि नगरपालिकाले कुनै रचनात्मक काम गर्न नसकेको स्थानीयको गुनासो छ ।

 

जिल्लाको गौरवका रुपमा रहेको रेसुङ्गा क्षेत्रको काखमा पर्ने पर्यटकीय स्थलको प्रचारप्रसार गरेर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनुपर्नेमा स्थानीयको जोड छ ।