असार १८, काठमाडौं ।
रसियाका प्रशिक्षक टानिस्लाव चेर्चेस्वेवले २०१० को च्याम्पियनलाई प्रिक्वार्टरफाइनलबाटै घर पठाउने आफ्नो योजना पूर्ण सफल भएको बताएका छन् । रक्षात्मक खेल प्रदर्शन गरेको रसियाले टाइब्रेकरमा स्पेनलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।
‘मैले आफ्ना खेलाडीहरुलाई सहमत गराएको थिएँ कि यो मात्र एउटा बाटो हो’ जितपछि रुसी प्रशिक्षक चेर्चेस्वेवले भने, ‘हामीलाई यस्तो शैली मन पर्दैन, तर, तीन डिफेण्डर खेलाएर यस्तै गर्नु पर्यो । धन्य भगवान ! मेरा खेलाडीहरुले जे भनेको थिएँ, त्यसलाई बुझे । उनीहरुले मलाई बुझे ।’
आफूले टिमका प्रत्येक खेलाडीसँग व्यक्तिगत र विगतमा भन्दा धेरै कुरा गरेको सुनाउँदै उनले भने, ‘मैले बताएको थिएँ कि किन, कहाँ, के । यसले काम गर्यो तपाईँहरुले देखिहाल्नुभयो । मलाई लाग्छ, मेरो राणनीति लागू गरेको हुनाले मेरा खेलाडीहरु विजयी भए ।’
स्पेजविरुद्धको जित रसियाका लागि ऐतिहासिक रह्यो किनभने पहिलोपटक यो राष्ट्र विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । खेलअघि प्रशिक्षक चेर्चेस्वेवलाई राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेका थिए । जितका कारण निकै भावुक हुनु स्वभाविक भएको तर, अब आफू अर्को खेलमा केन्द्रित भइसकेको चेर्चेस्वेवले बताएका छन् ।
आयोजक रसियाले अब सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्नु पर्नेछ, जो डेनमार्कलाई टाइब्रेकरमा हराउँदै क्वार्टरफाइनलमा पुगेको छ ।
