आप्रवासन नीतिविरुद्ध अमेरिकाका सयौँ शहरमा प्रदर्शन, अमेरिकाका आप्रवासन कानून संसारकै काम नलाग्ने

१७ असार २०७५, आईतवार ०६:४७

असार १७, काठमाडौं । एजेन्सी

राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा अमेरिकाका सयौँ शहरमा विरोध प्रदर्शन भएका छन् ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई उनीहरूका सन्तानबाट अलग गरिएकोमा विरोध गर्दै मानिसहरूले ती प्रदर्शनमा भाग लिएका छन् ।

६ सय ३० भन्दा बढी शहरमा कार्यक्रमहरू आयोजना गर्ने योजना बनाइएको थियो र प्रदर्शनकारीहरूले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहन दिइनुपर्ने माग राखेका थिए ।

प्रदर्शनकारीहरूले आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी पाएको एउटा निकायलाई सधैँका लागि बन्द गरिनुपर्ने माग गरेका छन् । तर, आइतवार सार्वजनिक हुने भनिएको एउटा अन्तर्वार्तामा ट्रम्पले त्यस्तो हुन नसक्ने बताए ।

यसैबीच एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई अदालत नै नलगी तत्कालै सीमाबाटै फर्काइनुपर्ने बताएका छन् । उनले अमेरिकाका आप्रवासन कानून संसारकै काम नलाग्ने कानून भएको पनि उल्लेख गरेका छन् ।