बेलायतका विद्यालयमा छात्राहरूका लागि स्कर्ट लगाउनमा रोक !

१८ असार २०७५, सोमबार ०८:२५

असार १८, काठमाडौं । एजेन्सी

बेलायतमा विद्यालयमा पढ्ने छात्राहरूका लागि स्कर्टको विकल्प खोजिँदैछ । देशभरिका धेरैजसो विद्यालयमा छात्राहरूलाई स्कर्ट लगाउनमा रोक लगाउने तयारी गरिएको छ ।

विद्यालयको पोशाक नीतिको विश्लेषणमा कम्तीमा ४० माध्यमिक विद्यालयका छात्राहरूले स्कर्ट लगाउन पाएका छैनन् भने अन्य विद्यालयले पनि यसमा विचार गरिरहेका छन् ।

विद्यालयहरूले तेस्रोलिंगीका आवश्यकतालाई पनि ध्यान दिएर सबैका लागि ट्राउजर नीति अपनाउने भएका छन् ।

बेलायत सरकारले जेन्डर रिकग्निसन एक्टमा परिवर्तन गरेर तेस्रोलिंगीहरूको अधिकारलाई स्पष्ट गर्ने तयारी गरिरहेको छ ।

ईस्ट ससेक्सको लेवेसमा प्रायरी स्कूलले अघिल्लो वर्षदेखि स्कर्टमा प्रतिबन्ध लगाएको थियो । छात्र र छात्राहरूका लागि फरक फरक पोशाक किन राखिएको भनी मानिसहरूले प्रश्न गर्ने गरेकाले स्कर्ट हटाइएको स्कूल प्रशासनले बतायो

त्यस्तै कोपलस्टोन हाईस्कूलले स्कर्टलाई अस्वीकार्य वस्तुको सूचीमा राखेको छ । चिपिक्क टाँसिने जीन्स लगाउने र अनुहारमा मुन्द्रा लगाउने काममा पनि विद्यालयले प्रतिबन्ध लगाएको छ ।