बलिउड अभिनेता मिथुनका छोरामाथि विवाहको दुई दिनअघि बलात्कारको मुद्दा

२२ असार २०७५, शुक्रबार ०९:५५

असार २२, काठमाडौं ।

दिग्गज बलिउड अभिनेता मिथुन चक्रवर्ती आफ्नो छोराका कारण तनावमा परेका छन् । विवाहको दुई दिनअघि उनका छोरा महाक्षयमाथि बम्बै हाइकोर्टमा बलात्कारको मुद्दा परेको छ ।

महाक्षयले आफूमाथि बलत्कार गरेर गर्भपतन गर्न लगाएको आरोपसहित एक भोजपुरी अभिनेत्रीले मुद्दा दायर गरेकी हुन् । मुद्दा दायरसपछि महाक्षयले अगि्रम जमानतका लागि निवेदन दिएका थिए । तर, उक्त निवेदन अदालतले खारेज गरेको छ । त्यसैले महाअक्षय पक्राउ पर्ने सम्भावना बढेको छ ।

महाक्षय र अभिनेत्री शिला शर्माकी छोरी मदालसा शर्माबीच ७ जुलाईमा बिहे हुँदैछ । आज संगीत सेरिमोनीका लागि पाहुनाहरु बोलाइएको छ । तर, महाक्षयमाथि गम्भीर आरोप लागेपछि बिहे हुने-नहुने ठेगान छैन ।

मदलसाकी आमा शिला भने अझै पनि बिहेको पक्षमा नै छिन् । उनले महाक्षयको बचाउ गरेकी छन् । एक अन्तरवार्तामा उनले भनिन्, ‘हामीलाई पहिल्यैदेखि यो विषयमा राम्रो जानकारी छ । सबैको आफ्नो अतित हुन्छ, त्यसलाई कोट्याएर साध्य छैन । बिहे रोकिदैन ।’

महाक्षयको बिहे उँटीको मोनार्क होटलमा हुने भनिएको छ । यो मिथुनको आफ्नै होटल हो । छोरामाथि लागेको आरोपका सम्वन्धमा मिथुनले केही पनि बोलेका छैनन् ।

यसैबीच पिडितका वकिलले महाअक्षयले नशालुपदार्थ खुवाएर बलात्कार गरेको बताएका छन् । बलात्कारपछि बिहेको आश्वासन दिएकाले पिडित अहिलेसम्म चुप लागेर बसेको उनको भनाई छ ।

‘पिडित अहिले पनि बिहेका लागि तयार छिन्, तर चक्रवर्ति परिवार उनलाई बुहारी स्वीकार्न तयार छैन,’ ती वकिलले भने ।