प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन : आठ उद्योगलाई कारवाही

१५ श्रावण २०७५, मंगलवार १०:४६

साउन १५, काठमाडौं ।

वातावरण विभागले गत आर्थिक वर्षमा १३८ उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रदूषण नियन्त्रणसम्बन्धी अनुगमन गरी वातावरणीय मापदण्ड पूरा नगरेका आठ उद्योग तथा प्रतिष्ठानलाई कारवाही गरेको छ ।

विभागले हुलास स्टिल उद्योग प्रालि (बारा), श्रीकृष्ण आयल रिफाइनरी प्रालि (बारा), विष्णु टेक्सटायल प्रालि (बालाजु), काठमाडौँ दुग्ध वितरण आयोजना (बालाजु), अरनिको आबुखैरेनी सिमेन्ट प्रालि (तनहुँ), हारती एग्रिगेट प्रालि (तनहुँ), कमला रोलिङ मिल्स प्रालि (मोरङ) र युनाइटेड ब्रुअरी प्रालि (मकवानपुर) प्रत्येकलाई रु ५० हजारका दरले जरिवाना गरेको जनाएको छ ।

यस अवधिमा विभागले ११६ आयोजना, उद्योग तथा औद्योगिक प्रतिष्ठानमा प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अनुगमन गरेको सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेलले बताए ।

विभागले १५ उद्योग एवं औद्योगिक प्रतिष्ठानलाई कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको, एकको बयान लिइएको र ५४ लाई सुधारका लागि सुझाव दिइएको विभागले जनाएको छ ।