पहिरोमा १२ जना बेपत्ता

१० श्रावण २०७५, बिहीबार १६:२९

साउन १०, काठमाडौं ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा पहिरोमा १२ जना बेपत्ता भएका छन् ।

यसअघि ५ जना बेपत्ता भनिएकोमा अहिले सो संख्या थपिएको हो । आफन्तले खोजी गरेपछि बेपत्ता हुनेको संख्या बढेको हो ।

गएराति करिब पौने १ बजे पहिरो गएको हो । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ । चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा पहिरो गएको हो । झण्डै ५ सय मिटरमाथिबाट पहिरो आएको छ ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका सोनाम शेर्पा, सोनाम लामा, दावा तामाङ रहेका छन् । यस्तै रसुवाको गोसाइकुण्ड गाउँपालिका १ का लाक्पादिलु तामाङ र कालिका गाउँपालिकाका विमल घर्तीमगर बेपत्ता छन् ।

पहिरोमा बेपत्ता भएका देवबहादुर मगर, जोम्सी तामाङ, डोल्मा तामाङ, तेन्जिङ डोल्मा, पासाङ डोल्मा तामाङ, नरमान तामाङ र १० वर्षका बालक प्रेम घलेको भने ठेगाना खुल्न सकेको छैन ।

पहिरोमा परि बेपत्ता हुनेमा अधिकांश सिन्धुपाल्चोकका कन्टेनर चालक रहेका छन् । अहिले उद्धार कार्य जारी छ । पहिरोमा पुरिएका ४ जनाको शव बाहिर निकालीएको छ । पहिरोमा अझै १२ जना बेपत्ता भएकाले मृतकको संख्या बढ्नसक्ने सम्भावना छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिकाको वडा नम्बर ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् । मृत्यु हुनेमा सबै कन्टेनरका चालक रहेको प्रहरीले जनाएको छ ।