“टर्की” पालन गरेर नमूना कृषक बन्दै सप्तरीका दुई युवा

२८ असार २०७५, बिहीबार ११:०२

आयोखबर संवादाता

असार २८, काठमाडौं ।

युवाको लहर विदेशतिर बढिरहेका बेला सप्तरी जिल्लाको एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् ।

कंचनरुप नगरपालिका वडा नं. १२ रुपनगर घर भएका शाहिद अली र आशिक अलीले तराईमा नै पहिलो पटक “फेमस टर्की फार्म हाउस प्रा.लि” टर्की जातको पंक्षी पालन गरेका छन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका अलीले चार महिनाअघि काठमाडौ बाट २०० वटा चल्ला ल्याएर टर्की पाल्न सुरू गरेका हुन् ।

एक महिना अघि एक लाख पचास हजार रुपैयाँभन्दा बढीको टर्की र चल्ला विक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य ७०० देखि ८०० रुपैयाँ तथा एक महिना पाल्दा एक हजार २००० रुपैयाँ पर्छ। चार महिनामा चल्ला दिन सुरू गर्ने टर्की छ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ ।

भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सात देखि आठ किलोग्राम तौलको हुन्छ। एक किलो टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ पर्छ। यतिखेर यति बेला नमूना कृषकका रूपमा चिनिन थालेका छन् । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएका हुन् ।


‘टर्कीको मासु गाउँमै विक्री भइरहेको छ,’ उनले भने, ‘नेपाल का विभिन्न ठुला शहरहरु बाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् ।’

एक वर्षमा पूर्ण रूपले तयार हुने पंक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन् । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको उनी बताउँछन् ।

उनी दिनहुँ हजारौंको संख्यामा विदेशीने युवाहरुलाई `हामीले हाम्रो परिश्रम , मिहिनेत आफ्नै देशमा केहि गर्नुपर्ने कुरा बताउछन् । ‘

उनी युवाहरूकोलागि दरिलो उदाहरणीय पात्र बन्न सफल भएका छन् ।