जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२० असार २०७५, बुधबार ०५:४७

असार २०, काठमाडौं ।

रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, सिम्बुबाट साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बु भीरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार दुर्घटनामा मोरङ स्थायी घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगरको घटनास्थलमै मृत्यु भएको छ । राजवंशी स्काभेटर चालक हुन् भने घर्तीमगर हेल्थ असिस्टेन्ट हुन् ।

नवलपरासीका गौतम अर्याल र सुनसरीका जीवन राई घाइते छन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

धादिङ घर भएका जीप चालक प्रकाश तामाङ भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएकाे जीप सडकबाट १२० मिटर तल खसेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।