चिनियाँ उपमन्त्री चिङले गरे ‘प्रचण्ड’सँग भेटवार्ता

१४ श्रावण २०७५, सोमबार १४:३९

साउन १४, काठमाडौं ।

चिनियाँ कम्यूनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्यूनिस्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्यूनिस्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ ।’

सो अवसरमा उपमन्त्री चिङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएको थियो । उनले ठूला कम्यूनिस्ट पार्टीहरूको एकताबाट देशमा स्थायित्व कायम भएकोमा बधाई दिए ।

उपमन्त्री चिङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनको भनाई थियो ।