कैलालीमा चार हात, चार खुट्टा र दुई मेरुदण्ड भएको अनौठो शिशुको जन्म

१९ असार २०७५, मंगलवार ०६:४०

असार १९, काठमाडौं ।

कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान अनौठो शिशुको जन्म भएको छ ।

टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा अनौठो शिशुको जन्म दिएकी हुन् ।

 

चार हात, चार खुट्टा रहेको र मेरुदण्ड समेत दुई वटा रहेको अवस्थामा शिशुको जन्म भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बताए ।

 

डा. खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताए ।

तर, परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उनले बताए । उनले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए ।

शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।