उत्तर कोरियाले गोप्य स्थानमा युरेनियम तयार !

१८ असार २०७५, सोमबार ०८:०८

असार १८, काठमाडौं । एजेन्सी

उत्तर कोरियाले आणविक बमका लागि युरेनियम उत्पादन बढाएको छ । गोप्य स्थानमा युरेनियम तयार गरिएको हो ।

अमेरिकी जासूसी संस्थाहरूबाट प्राप्त जानकारीका आधारमा मिडियाहरूले यो दाबी गरेका हुन् । एनबीसीले नाम बताउन नचाहने अधिकारीहरूलाई उद्धृत गर्दै उत्तरले युरेनियम उत्पादन बढाएको विश्वास अमेरिकाले लिएको लेखेको छ ।

वाशिङटन पोस्टमा छापिएको खबरअनुसार, उत्तरले देशमा उपलब्ध आणविक हतियार र गोप्य उत्पादन स्थललाई लुकाउने तरिकामा पनि विचार गर्दैछ । पत्रिकाले जासूसी विभागका अधिकारीहरूलाई उद्धृत गर्दै उत्तर आफ्ना सबै आणविक हतियारको पूर्ण आत्मसमर्पण गर्ने पक्षमा नरहेको लेखेको छ ।

 

सिंगापुरमा १२ जुनमा भएको उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकका बेलामा गरिएको सहमतिभन्दा विपरीत काम भइरहेको हो । किमले अमेरिकाबाट सुरक्षाको पूर्ण प्रत्याभूतिका बदलामा पूर्ण आणविक निःशस्त्रीकरणको वाचा गरेका थिए ।

 

रिपोर्टअनुसार, जासूसी विभागले जुटाएको प्रमाणमा उत्तरले आणविक हतियार विकसित गर्न सक्षम गोप्य स्थललाई सुरक्षा राख्न चाहेको पत्ता लगाएको हो ।

अमेरिकाका केही अधिकारीहरूले उत्तरसँग ६५ आणविक हतियार रहेको विश्वास गरेका छन् ।