आज संसदमा चिकित्सा शिक्षा विधेयक पेश हुने, डा. केसीका माग पूरा होलान् त ?

३१ असार २०७५, आईतवार ०६:०८

असार ३१, काठामाडौं ।

सरकारले चिकित्सा शिक्षा विधेयक आइतवार संसदमा टेबल गर्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक परिमार्जनसहित संसदमा ल्याउन सरकारसंग माग गरेको थियो । चिकित्सा क्षेत्रका विकृतिविरुद्ध आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउन कांग्रेसले माग गरेको छ ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार प्रतिनिधि सभाको आइतवारको बैठकमा एमालेका पूर्वसांसद मोहम्बद मोस्ताक आलमप्रति श्रद्धान्जली व्यक्त गर्ने कार्यसूची पनि छ ।

सरकारले भने डा. केसीसंगको वार्ताका आधारमा विधेयकमाथि संशोधन गर्न सकिने भन्दै यसअघि तयार भएको विधेयक संसदमा टेबल गर्न लागेको हो ।