असार १४, काठमाडौं ।
प्रहरीले अवैध रुपमा ५५ गाई–गोरु लिएर भारत जाँदै गरेका ३ जनालाई पक्रेकाे छ ।
भारत मोतिहारीका कृष्णकुमार यादव, उनको भाइ मुरारीकुमार यादव र सोही गाउँका सुनिल यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, सिम्रौनगढ बाराका प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा खटिएकोे टोलीले साना ठूला गाई–गोरु गरी अन्दाजी ४ लाख मूल्य बराबरका ५५ गाई–गोरु नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको हो ।
सिम्रौनगढ नगरपालिका–१ स्थित हिराचोक हुँदै भारततर्फ लगिँदै गरेका ५५ गाई–गोरुसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौंरले जानकारी दिए ।
गाईगोरु लिलाम प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयसँग समन्वय भइरहेको बारा प्रहरीले जनाएको छ । ओसार पसारमा संलग्न ३ भारतीय नागरिकलाई भने आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
८ जना फरार प्रतिवादी पक्राउ
त्यसैगरि प्रहरीले बारा जिल्ला अदालतबाट फैसला भई जरिवाना लागेका ८ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । वन र लुटपाट मुद्दामा दोषी ठहर भई जरिवाना लागेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
वन मुद्दाका फरार र बारा कोल्हवी नगरपालिका ४ का सन्तोष मैनाली, विक्रम चौधरी, पासवान चौधरी र रामलखन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरु विरुद्ध अदालतले जनही २५ हजार ७० रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
त्यसैगरी लुटपाट मुद्दामा सजाय फैसला भएका बारा करैयामाई गाउँपालिका–४ का मनुदेवी थारु, वीरु चौधरी, प्रकाश चौधरी र शर्मिला चौधरीलाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध अदालतले जनही ३ हजार २४ रुपैयाँको फैसला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएका प्रहरी टोलीले असार १३ गते पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राठौंरले जानकारी दिए ।
