असार १४, काठमाडौं ।
पर्साका १६ देखि २२ वर्ष उमेर समूहका किशोर किशोरीहरुले सम्भव शून्य सहनशीलता लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम प्रभावकारी देखिएको दावी गरेका छन् ।
उनीहरुले कार्यक्रम मार्फत विद्यालय र समुदायमा धेरै सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।
यूएसआईडी, युनिसेफको सहयोगमा रेष्टलेस डेभलपमेन्ट र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले जिल्लामा सञ्चालन गरेको कार्यक्रबाट फाइदा पुगेको उनीहरुको भनाइ छ ।
०१६ देखि जिल्लाको १३ वटा स्थानीय तहको ५० वटा विद्यालयमा संभव शून्य सहनशीलता लैंगिक हिंसा मुक्त विद्यालय कार्यक्रम सञ्चालनमा रहेको एनजीओसीसीका अध्यक्ष ईब्राहिम देवानले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत ५० जना योङ च्याम्पियनहरुले विद्यालयमा विविध क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
बिहीबार वीरगञ्जको होटल कुमु प्यालेसमा आयोजित समिक्षा बैठकमा बोल्दै योङ च्याम्पियनहरुले कार्यक्रमले विशेषगरी छात्राहरुलाई शिक्षा लिन सहज भएको बताए ।
योङ च्याम्पियन बुधबन्ती चौधरीले महिनावारीको सवालमा विद्यमान कुसंस्कारमा परिवर्तन आएको बताइन् ।
‘शुरु शुरुमा विद्यालयमा गएर महिनावारीको बारेमा कुरा गर्दा केटीहरु टाउको लुकाउने गर्थे, केटाहरुले उछृङ्खल प्रश्न गरेर हैरान पार्ने गरेका थिए ।
अहिले त्यसमा परिवर्तन आएको छ । महिनावारी हुँदा केटीहरुले समेत गएर सरसँग प्याड माग्न सक्ने अवस्था बनेको छ,’ उनले भनिन्, ‘महिनावारीका बारमेा समाजमा रहेको नकारात्मक धारणाहरुमा समेत परिवर्तन आएको छ । महिनावारी हुँदा अचार, बीउहरु छुनु हुँदैन भन्ने सामाजिक मान्यता थियो तर किशोरीहरुले महिनावारीको बारेमा बुझेपछि परिवारलाई समेत सम्झाउन थालेका छन् ।’
उनले छात्राहरुले समेत विद्यालयमा आएको समस्या सरहरुसँग राख्ने, छात्र छात्राहरु मिलेर होमवर्क बनाउने, खेलकुद कार्यक्रमहरु गर्ने जस्ता क्रियाकलाप हुँदै आएको बताइन् ।
अर्का योङ च्याम्पियन गुल्सन त्रिपाठीले कार्यक्रमकै दौरानमा नियमित विद्यालयमा नआउने विद्यार्थीहरुलाई फ्लोअप गरेर विद्यालयमा आउने बनाउन सफल भएको बताए ।
‘दिव्य कन्या मावि वीरञ्चीवर्वा मेरो कार्य क्षेत्र हो । जहाँ ०७२/७३ को ६ देखि ९ कक्षासम्म ड्रप आउट दर अध्ययन गर्दा वार्षिक परीक्षामा १५ जनासम्म विद्यार्थीहरु अनुपस्थित देखिएको थियो, ०७४/७५ मा त्यसलाई शून्यमा झार्न सफल भएका छौं,’ उनले भने, ‘कार्यक्रममार्फत स्टेशनरी, खेल सामग्री वितरण भएको छ । त्यसले पठन पाठन र अतिरिक्त क्रियाकलापमा समेत सहयोग पुगेको छ ।’
शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख लालबाबु साहले योङ च्याम्पियनहरुले निकै संघर्ष गरेर विद्यालयमा सुधार ल्याएको भन्दै प्रशंसा गरे ।
युनिसेफका बृज किशोर पटेलले योङ च्याम्पियन मार्फत काम गराउने अवधारणा सफल भएको बताए ।
विद्यालयमा हुने हिंसा बारे गोप्य गुनासो कार्यक्रम सञ्चालनको क्रममा विद्यालयमा राखिएको गुनासो पेटिका विद्यालयमा हुने हिंसा तथा अन्य समस्या बारे गोप्य रुपमा रिपोर्ट गर्ने गरिएको छ ।
यसरी गोप्य रुपमा आएका विभिन्न किसिमका लैंगिक हिंसाका घटनाहरु पहिचान हुँदै सम्बोधन भइरहेको, विद्यालयमा शारीरिक दण्ड सजायमा कमी आएको संस्थाका अध्यक्ष देवानले बताए ।
संस्थाले दिएको जानकारी अनुसार सेप्टेम्बर २०१७ देखि मई २०१८ सम्म गुनासो पेटिकामा २ सय ४५ गुनासो प्राप्त भएको छ भने २०७५ सालको भर्ना अभियानमा घरदैलो कार्यक्रम मार्फत ५४९ जना बालबालिका विद्यालयमा भर्ना गराइएको छ ।
गुनासो पेटिकामा आएका उजुरीहरु विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागी समिति मार्फत सुनुवाई गर्दै आएको छ ।
