असार १२, काठमाडौं ।
उखु खरिद बापतको रकम भुक्तानी दिने सहमति भएपछि महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा लागेको ताला सोमबार खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा आइतबार उखु किसान र चिनी उद्योगीबीच भएको वार्तामा किसानलाई भुक्तानी दिन बाँकी रहेको रकम दिने सहमतिपछि मिलमा लगाइएको ताला खुलेको हो ।
चिनी उद्योगले भुक्तानी गर्नुपर्ने रकम यथासीघ्र भुक्तानी दिने सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको किसानको तर्फबाट वार्ता समितिमा नेतृत्व गर्ने उखु उत्पादक कृषक संघका अध्यक्ष नरेश सिंह कुशवाहाले जानकारी दिए ।
उखुको रकम भुक्तानीको माग गर्दै उखु किसानहरुले गौशाला नगरपालिका रामनगर १ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडको मुलगेटमा जेठ ६ गते देखि तालाबन्दी गर्नुका साथै धर्ना दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको अध्यक्षतमा बसेको बैठकमा तत्काल एभरेष्ट सुगर मिलले ६० करोड भुक्तानी दिने, मिलले उत्पादन गरेको चिनी बिक्री भए नभएको र किसानहरुलाई सहजरुपमा भुक्तानी दिएको वा नदिएको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति बनाएर अनुगमन गर्ने सहमति भएको छ ।
वार्तामा असार १४ गतेभित्र भुक्तानी दिनुपर्ने उखु किसानहरुको तालिका सार्वजनिक गर्ने र १५ गतेबाट भुक्तानी दिन सुरु गर्ने सहमति भएको कुशवाहले बताए ।
किसानहरुको उखु खरिदबापत मिलले १ अर्ब ७८ करोड ९९ लाख ७२ हजार ६ सय ५७ रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
