असार ८, काठमाडौंं । बीबीसी हिन्दीबाट
अमेरिकाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ–उनका बीच सिंगापुरमा भएको सम्झौतामा पूरै कोरियाली प्रायद्वीपको पूर्ण निःशस्त्रीकरणको कुरा परेको छ । यसको अर्थ हुन्छ, दक्षिण कोरियामा अमेरिकाको आणविक पनडुब्बी र हतियार छ भने त्यसलाई पनि अमेरिकाले फिर्ता लग्नुपर्ने हुन्छ ।
उत्तर कोरियाका आणविक हतियार र प्रविधिका विषयमा अमेरिकाका के अपेक्षा छन् ? अन्तर्राष्ट्रिय सम्बन्धका जानकार र अमेरिकाको डेलावेयर विश्वविद्यालयमा प्राध्यापक मुक्तदर खान भन्छन्, ‘उत्तरसँग भएको हतियार उसले चीनलाई वा अमेरिकालाई वा रुसलाई दिन सक्छ वा वैज्ञानिक तरिकाले नष्ट गर्न सक्छ ।’
खान आणविक हतियार बनाउने दुर्लभ प्रविधिको महत्त्वलाई रेखांकित गर्छन् । आणविक प्रविधिको सबभन्दा महत्त्वपूर्ण हिस्सा युरेनियमको संवर्द्धन हो ।
उनी भन्छन्, ‘उत्तर कोरियाको जुन भट्टीमा युरेनियमको ९९ प्रतिशतसम्म संवर्द्धन वा शुद्धीकरण गरिन्छ अनि जसलाई इरानले अहिलेसम्म बनाउन सकेको छैन, त्यो बन्द हुनुपर्ने अमेरिकाको चाहना छ । त्यसको सेन्ट्रीफ्युसेजलाई नष्ट गरिएमा दश वर्षपछि कुनै नयाँ शासक उत्तर कोरियामा आएपनि उसले शुरूदेखि नै काम गर्न थाल्नुपर्ने हुन्छ । तर यो हुने कुनै सम्भावना छैन । आणविक हतियार गुमाएमा उत्तर कोरियाले आफ्नो एक मात्र शक्ति गुमाउनेछ ।
अमेरिकाले उसमाथि विश्वास गर्न नसकिने प्रमाणित गरिसकेको छ । इरानसँग उसले सम्झौता तोडिसकेको छ ।’
अनि अमेरिकाको एक राजनीतिक जमात उत्तर कोरियासँगको सम्झौतामा खुशी छैन । अमेरिकालाई सम्झौताबाट खासै फाइदा भएन भन्ने उनीहरूको सोच छ ।
अन्तर्राष्ट्रिय मामिलाविज्ञ जयन्ती राघवन अमेरिका र उत्तर कोरियाबीचका अनेक द्वन्द्व कायम रहेको जुन निकट भविष्यमा फेरि अगाडि आएर स्थितिलाई बिगार्न सक्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास छोड्ने बताएका छन् । तर उनले दक्षिणसँग कुराकानी नगरिकनै यसो भनेका हुन् जस्तो लाग्छ । ट्रम्प दक्षिण कोरियासँग सहयोगको प्रतिबद्धताबाट हटिरहेको दक्षिणलाई लाग्न सक्छ ।’
तर इतिहासमा केही देशहरूले सफलतापूर्वक निःशस्त्रीकरण गरेको उदाहरण छ र त्यसबाट उनीहरूलाई फाइदा पनि भएको छ ।
मुक्तदर खान भन्छन्, ‘ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र स्विडेन यसका उदाहरण हुन् । सोभियतकालमा कजाकास्तान, बेलारुस, युक्रेनसँग पनि सयभन्दा बढी आणविक हतियार छन् । उनीहरूले हतियार त्यागेपछि पश्चिमले उनीहरूलाई अर्बौं डलर आर्थिक सहायता दिएको थियो । उत्तर कोरियाले पनि धेरै फाइदा लिन सक्छ तर उसले यो कुराकानीलाई व्यवस्थित गर्न सक्नुपर्छ । यसलाई उसले चरणबद्ध तरिकाले अघि बढाउनुपर्छ ।’
हाल सबै कुरा स्थिर र शान्त देखिन्छ । तर किमसँग भेटघाटपछि सिंगापुरमा ट्रम्पले तमाम सकारात्मक पक्षका साथसाथै किमका वाचामाथि शंकाहरू निर्मूल भइनसकेको बताएका थिए ।
उनले भनेका थिए, ‘उनीहरूले निःशस्त्रीकरण गर्छन् जस्तो मलाई लाग्छ । म गलत पनि हुन सक्छु । ६ महिनामा म तपाईंका अगाडि उभिएर म गलत रहेछु भन्न सक्छु । म यो कुरा स्वीकार गर्छु गर्दिनँ थाहा छैन तर कुनै बहाना पक्कै खोज्छु ।’
