बलात्कारको जेल सजाय भोगिरहेका राम रहीमले कारागारमा फलाए डेढ क्विन्टल आलु

८ असार २०७५, शुक्रबार १०:००

असार ८, काठमाडौंं । एजेन्सी

दुई साध्वीहरूलाई बलात्कार गरेको अभियोगमा बीस वर्षे जेल सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम सुनारियाको कारागारमा तरकारी खेती गरिरहेका छन् ।

राम रहीमले जेलमा डेढ क्विन्टल आलु फलाएका छन् । जेलको एक हजार गज जमीनमा उनले पाँचथरी तरकारी पनि उमारेका छन् । जेलमा उनी पूरै लगनशीलताका साथ खेती गरिरहेका छन् ।

 

जेलमा उनले गरेको कामको कुनै आय हुँदैन किनकि अदालतले उनका सबै खाता रोक्का गरिसकेको छ । जेलमा उनको खर्च परिवारका सदस्यले पठाएको रकमले नै चलिरहेको छ ।

 

जेल नियमअनुसार, उनलाई श्रमका रूपमा खेतीको काम दिइएको थियो । अनि उनलाई एक हजार गज जमीन दिइएको थियो ।

 

दिनको दुई घन्टा खेती गरेर उनले आलु, घिरौंला, तोरी, गोलभेंडा र घिउकुमारीको खेती गरेका हुन् । तीमध्ये आलु चाहिँ फलिसकेको छ । घिउकुमारीको बिरुवा हुर्किसकेको छ ।

 

उनी बिहान बेलुका योग र ध्यान गर्छन् । अनि जेलमा बनाइएको खानेकुरा खान्छन् । जेलका गार्डसँग उनी गफ पनि लडाइरहेका हुन्छन् ।