असार ८, काठमाडौंं ।
गोहीसँग भिडेर घाइते भएका मनिराम पाँच दिनसम्म भरतपुरको एलाइभ अस्पतालमा उपचार गराएर घर फर्किए । घर फर्किंदै गर्दा मनिरामले चिकित्सकलाई भने, ‘बाँच्छु जस्तो लागेको थिएन भाग्यले साथ दियो, खुसी लागेको छ ।’
गत असार २ गते नारायणी नदीमा पौडी खेल्न पुगेका नवलपुर मध्यविन्दु–१५, प्रसौनीका ६६ वर्षीय मनिराम तामाङलाई गोहीले झम्टिएको थियो ।
घाम निकै चर्किएको थियो । पानीमा गएर पौडी खेल्ने रहर जाग्यो मनिरामलाई । बँदेल तथा गैंडाले मकै खेतीमा क्षति पु¥याएको हेर्न आफ्नो खेतबारी पुगेका थिए उनी । पौडी खेल्न साँझ ६ बजेतिर नदीमा हेलिए । तर गोहीको आक्रमणमा परे ।
‘अति गर्मी भो, खप्न नसक्ने । धमिलो पानी भएपनि नुहाउन गएँ,’ मनिरामले घटना सुनाए, ‘अकस्मात उफ्रेर गोहीले टोक्यो । पानीमा लडीबुडी गरें ।’
आफूलाई गोहीले समातेको पत्तो पाए तर उनले होस् गुमाएनन् । ‘एउटा हात गोहीको मुखभित्रै पुगिसक्यो । हड्डी चपाउन थाल्यो,’ उनले भने, जे पर्ला पर्ला अब कि मरियो कि बाँचियो भनेर गोहीको मुखबाट फुत्किने प्रयास गरें । अर्को हात र खुट्टाले गोहीलाई हान्न थालें ।’
भाग्यवस उनलाई गोहीले छाडिदियो । उनका १३ वर्षीय नाति नदी छेउँमा थिए । मनिराम गोहीबाट फुत्किएर बाहिर आउनासाथ नातीलाई घरमा फोन गरेर खबर गर्न भने । तर हजुरबुवा र गोहीको घम्साघम्सी देखेका उनी डराएर बोल्नै सकेनन् ।
मनिरामले भने, ‘मैले आफैंले ठूली नातिनीलाई फोन गरें । घटना भएको एक घण्टापछि अस्पताल आइपुगें । जे होस् अब बाँचियो ।’
झण्डै २२ वर्ष निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गैंडा गस्तीको काम गरेका थिए, मनिरामले । कयौंपटक नदी पार गर्दा उनलाई कहिल्यै यस्तो भएको थिएन । तर, हात गुमाए पनि ज्यान भने बचेकोमा उनी खुसी छन् ।
मनिरामको उपचारमा एक लाख खर्च भएको अस्पतालले जनाएको छ ।
पहिलो घटना होइन
मनिराम भरतपुरको एलाइभ अस्पतालमा उपचारका लागि आउँदै गर्दा सोही अस्पतालमा गोहीसँग यसरी नै जुधेर जीवन बाँचेका दीपेन्द्र बोटे उपचाररत थिए । गत जेठ २२ गते राप्ती नदीमा पौडी खेल्न गएका बेला पूर्वी चितवनस्थित सौराहा मगर टोलका दीपेन्द्र बोटे माथि गोहीले आक्रमण गर्याे । उनी अपराह्न ४ बजेतिर साथीसँग मिलेर राप्ती नदीमा पौडी खेल्न गए । पौडी खेल्न थालेको एक मिनेट नपुग्दै उनलाई गोहीले आक्रमण गर्यो । दीपेन्द्र बल्लतल्ल गोहीको मुखबाट बाँचे तर उनले एउटा खुट्टा गुमाए ।
दीपेन्द्र बोटे
विदेश जाने तयारीमा रहेका दीपेन्द्र यतिबेला अस्पतालमा छन् । सो दिनको घटना सम्झिँदै उनी भन्छन्, ‘पानी तलबाट केहीले तानेजस्तो लाग्यो, २–३ झड्का तान्यो, खुट्टा टोक्न थाल्यो । एकदमै दुःख थाल्यो । गोहीले खुट्टा खाइसकेको रहेछ ।’
पहिलोपटक त्यहाँ पौडी खेल्न गएका उनी साथीको सहयोग र आफ्नै प्रयासबाट जसोतसो फुत्किए । तर वायाँ खुट्टा गुमाए ।
२५ वर्षीय दीपेन्द्र दुई वर्ष दुबईको एयरपोर्टमा काम गरेर फर्किएका थिए । फेरि मलेसिया जाने भिसा कुरेर बसेका थिए । तर, दुर्घटनाले उनको जिन्दगीलाई अन्तै मोडिदियो ।
विदेश जान नपाएपछि उनले अस्पतालको बेडबाट स्वदेशमै सेवा गर्ने योजना बनाएका छन् । ‘अब स्वदेशमै सानो पसल गरेर बस्छु,’ उनले भने, ‘नदीनालामा जथाभावी पौडी नखेलौं भनेर सन्देश दिँदै बस्नेछु ।’
गोहीको मुखमा परेर पनि बाँच्न पाएकोमा उनी खुसी छन् तर, खुट्टा गुमेकोमा दुःखी । ‘उपचार खर्च जुटाउन केही कठिन छ,’ उनले भने, ‘बाँच्न पाइयो यसैमा खुसी छु ।’
सावधानी नअपनाउँदाको परिणाम
गोहीको आक्रमणबाट घाइते भएका बिरामीको उपचार गर्दै आएका एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रमोद लामिछाने सामान्य सावधानी नअपनाउँदा गोहीको आक्रमणका घटना बढेको बताए । गोही भएका क्षेत्र पहिचान गरेर पौडी खेल्न, माछा मार्न जान निषेध गर्नुपर्ने उनको धारणा छ । जनतालाई पनि सुसूचित गर्न सके यस्ता घटनामा कमी आउने उनको सुझाव छ ।
१० वर्षसम्म चिकित्सा क्षेत्रमा सक्रिय लामिछानेले गोहीबाट घाइते बिरामीको सफल उपचार गरेका छन् ।
चितवन र यस आसपास बढेको गर्मीसँगै नारायणी, राप्ती जस्ता ठूला नदीसहित अन्य साना खोलाहरुमा पनि पौडी खेल्न जाने गरेको पाइन्छ । तर हरेक वर्ष गोहीको आक्रमणका घटनाहरु हुँदै आएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष नारायणी र राप्ती नदीमा गोही छाड्दै आएको छ ।

