फ्रान्सका राष्ट्रपति इम्याक्रोंलाई उनको निकनेम लिएर विद्यार्थीले बोलाएपछि….

७ असार २०७५, बिहीबार ०६:४२

असार ७, काठमाडौं । एजेन्सी

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई उनको निकनेम लिएर एकजना विद्यार्थीले बोलाएपछि उनले हप्काएका छन् । यो घटना सोमवारको हो अनि यसको भिडियो भाइरल भइरहेको छ ।

दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध फ्रान्सेली विद्रोहको यादमा राखिएको एक कार्यक्रममा उनी पुगेका थिए । त्यतिखेर उनले प्रशंसकहरूसँग पनि भेटघाट गरेका थिए ।

त्यतिखेर एक विद्यार्थीले उनलाई चिच्याएर सोधे, ‘म्यान्यु, के छ खबर ?’ म्यान्यु राष्ट्रपति इम्मानुएलको निकनेम हो । त्यसपछि उनी विद्यार्थीनजिक पुगे अनि भने, ‘मलाई कि राष्ट्रपतिज्यू भन कि मोसुँ भन ।’

राष्ट्रपति म्याक्रोंले आफैं यो घटनाको भिडियो ट्विटरमा पोस्ट गरेका थिए । त्यसमा उनले बोलेको सुनिन्छ, ‘एउटा डिग्री हासिल गर अनि आफूलाई पाल्न सिक । त्यसपछि तिमी क्रान्ति शुरू गर्नका लागि भाषण दिन सक्छौ ।’

भिडियोमाथि प्रयोगकर्ताहरूले फरक फरक प्रतिक्रिया दिएका छन् । धेरैले म्याक्रोंको प्रशंसा गर्दै उनी इज्जतको हकदार भएको बताए । केहीले भने यसबाट राष्ट्रपतिको घमण्ड झल्किएको बताए ।