तालमा डुंगा पल्टिँदा १८० भन्दा बढी यात्रुहरू बेपत्ता

७ असार २०७५, बिहीबार ०६:३३

असार ७, काठमाडौं । एजेन्सी

इन्डोनेसियाको तोबा तालमा सोमवार डुंगा पल्टिँदा १८० भन्दा बढी यात्रुहरू हराइरहेका छन् ।

उक्त डुंगाको क्षमता जम्मा ६० यात्रुको थियो तर त्यसमा तीन गुणा बढी यात्रु कोचेको थियो ।

तोबा ताल संसारको सबभन्दा ठूलो ज्वालामुखी ताल हो । ईदको बिदामा बिदा मनाउन गएका पर्यटकहरू खचाखच भरिएको डुंगा दुर्घटनाग्रस्त भएको थियो ।

सुमात्रा टापुमा रहेको उक्त क्षेत्रमा मौसम खराब भएको छ र धेरैजसो पीडितहरू डुंगामा अड्किएको मानिएको छ ।

इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले जम्मा १८ जनालाई जीवित अवस्थामा भेटाइएको बताएको छ । उनीहरू दुर्घटनाको केही घन्टाभित्रै भेटिएका थिए ।

डुंगा सञ्चालकहरूले कसैलाई टिकट नदिएकाले को को त्यस डुंगामा थिए भन्ने कुनै अभिलेख नरहेको अधिकारीहरूले बताए ।