असार ६, काठमाडौं ।
साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पछिल्लो समय नेपालमा रहेर हुन्डी कारोबारमा संलग्न रहेका भारतीय नागरिक बिमल पोदार पक्राउ परेका हुन् । सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला परेपछि पाेदारलार्इ पक्राउ गरिएको सुन तस्करी प्रकरणको छानबिनका लागि गठित गृह मन्त्रालयको समितिले जनाएको छ ।
पोदारलाई मंगलवार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको हो । बा ८ च ७७१३ नम्बरको कारमा यात्रा गरिरहेको अवस्थामा नै पोदारलाई पक्राउ गरिएको सुन छानबिन समितिका एक सदस्यले बताए ।
उच्च व्यापारीसँग मिलेर सुन तस्करीदेखि हुण्डी कारोबारसम्म
सुन तस्करीको छानबिनका लागि गठित समिति स्रोतका अनुसार पोदार नेपालमा बसेर सुन तस्करी गर्ने गर्दथे । उनले भारतीय व्यापारीबाट पैसा उठाएर नेपालका सुन तस्करलाई दिने गरेको तथ्य फेला परेको समिति स्रोत बताउँछ ।
समितिका एक सदस्यले दिएको जानकारीका अनुसार पोदारले सुन तस्करीका लागि नेपालमा संकलित रकम भारत हुँदै दुवईसम्म पुर्याउँथे ।
नेपालका केही ठूला व्यापारीसँग सम्पर्क रहेका पोदारले सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालसँग मिलेर नेपालमा अन्य व्यवसाय समेत गर्ने गरेको बुझिएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार बुधवारबाट पोदारको बयान शुरु भएको छ ।
