असार ६, काठमाडौं ।
अमेरिकाले आप्रवासन सम्बन्धी नीतिमा कडाइ गरेपछि अवैध रुपमा बसिरहेका १८ नेपालीलाई पक्राउ गरेर कारागारमा राखिएको जनाइएको छ ।
नेपालीसहित ८० जना दक्षिण एसियालीलाई पक्राउ गरेर ओरेगनको कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् । मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बीबीसीले उल्लेख गरेको छ । त्यसबाहेक पक्राउ पर्नेमा ५ जना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, ‘पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ ।’ उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने अवस्था रहेको जनाइएको छ । ४ दिनअघि अमेरिकी सांसदको एउटा प्रतिनिधि मण्डलले कारागारको भ्रमण गरेको थियो ।
टोलीमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र आप्रवासीसँग आफूले कुराकानी गरेको बताएकी छन् । उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।
‘पक्राउ गरिएकालाई भाषाका आधारमा समूह बनाएर राखिएको छ,’ उनले भनिन्, ‘उनीहरूमध्ये धेरैले वकिलसँग कुराकानी गर्न नदिएको बताएका छन् ।’ सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसले सांसदहरूलाई भारतमा धार्मिक पृष्ठभूमिका कारण अप्ठ्यारो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए ।
बोनामिचीको वेवसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए । शरण खोज्ने अधिकार भएपनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो ।’ उनले त्यहाँ रहेका नेपाली बन्दीसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन् ।
बीबीसीका अनुसार वाशिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बताएका छन् । एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डटकमका अनुसार ती आप्रवासीलाई भेट्ने प्रयास गरेका वकिललाई संघीय अधिकारीले सोमबार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन् ।
आप्रवासीको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासी जोखिममा रहेको बताइन् । ‘उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन । कतिपयलाई चोट पटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन् । तर, उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौं,’ उनले भनिन् ।
ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ । हालैका हप्तामा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघ सहितका निकायले आलोचना गरिरहेका छन् ।
