‘राप्रपाबीच’ पार्टी एकताका प्रक्रिया शुरु

६ असार २०७५, बुधबार ०७:३३

असार ६, काठमाडौं ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा प्रक्रिया शुरु भएको छ ।

दुवै दलबाट गठित कार्यदलले मंगलबार पहिलो पटक छलफल गरेको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

गत दुई वर्ष अगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मत रुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ ।

वार्तामा एकताको स्वरुप कस्तो हुने, अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने, शक्ति पृथक्कीकरणलगायत विषयमा छलफल भएको राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

बैठकमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा(प्रजातान्त्रिक)बाट दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता थियो । प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको छ ।

हाल राप्रपाका तीन समूह छन्, जसमा एकीकृत राप्रपा(राष्ट्रवादी)को नेतृत्व डा प्रकाशचन्द्र लोहनीले गरेका छन् ।

स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पराजित भएपछि तीनै समूह एकताका लागि जुर्मुराएका छन् । विसं २०४७ जेठ १५ गते राप्रपा(थापा) र राप्रपा( चन्द) जन्मी विभिन्न टुक्रामा विभाजन, एकता र पुनःविभाजन भएको छ ।