दुई पुरुषको सम्बन्धबाट महिलाले जन्माएको बच्चाप्रति अदालतको फैसला

५ असार २०७५, मंगलवार ०७:४१

असार ५, काठमाडौं । एजेन्सी

क्यानाडाको एक अदालतले एक महिलासँग प्रेमसम्बन्धमा रहेका दुई व्यक्तिलाई उनले जन्माएको सन्तानको वैध पिता घोषणा गरेको छ ।

न्युफाउन्डल्यान्ड र लाब्राडोर सर्वोच्च अदालतले यस विषयमा अप्रिल महिनामै फैसला दिएको थियो तर यसको सार्वजनिक घोषणा अघिल्लो हप्तामा मात्र गरियो । क्यानाडाको कानूनने बहुप्रेम सम्बन्धलाई स्वीकार गर्छ र बहुविवाहलाई प्रतिबन्ध लगाउँछ ।

‘समाज बदलिरहेको छ र परिवारका संरचनाहरू यससँगै परिवर्तन भइरहेका छन्,’ न्यायाधीश रोबर्ट फाउलरले फैसलामा लेखे । ‘यसलाई वास्तविकताका रूपमा स्वीकार गर्नुपर्छ र बालकको सर्वोपरि हितविपरीत ठानिनुहुँदैन ।’

सेन्ट जोन शहरमा बस्ने तीनजनाको जोडी तीन वर्षदेखि सँगै बसिरहेको क्यानाडेली सञ्चारमाध्यमले लेखेका छन् । बहुप्रेम सम्बन्धमा रहेकी महिलाले गत वर्ष सन्तान जन्माएकी थिइन् र बाउ को हुन् भन्ने प्रस्ट छैन । फैसलामा यो परिवारका सदस्यहरूको नाम खुलाइएको छैन ।

न्युफाउन्डल्यान्ड एन्ड लाब्राडोर प्रान्तका अधिकारीहरूले तीनैजनालाई मातापिताको अधिकार दिन अस्वीकार गरेपछि उनीहरू अदालत पुगेका थिए । बालबालिका कानून ऐनमुताबिक दुई व्यक्तिको नाम मात्र बच्चाको जन्मदर्ता प्रमाणपत्रमा लेख्न मिल्छ ।

सर्वोच्च अदालतका न्यायाधीशले यो तर्कलाई स्वीकार त गरे तर बालबालिका ऐन तीन दशकअघि ल्याइएको र यसले ‘समाजमा आम रहेका र स्वीकारिएका अहिलेको जटिल पारिवारिक सम्बन्ध’ अनुकूल नहुने बताए ।