असार ३, काठमाडौं ।
ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वको चुनावको मनोनयन भइसकेपछि गत विहीबार एकाएक कांग्रेसवृत्तमा हल्ला चल्यो-बूढानीलकण्ठको थैली खुल्यो ।
सामान्यतः शेरबहादुर देउवा र आरजु राणाले घरमा भित्रिएको रकमको थैली खोलेर कार्यकर्तालाई बाँड्दैनन् भन्ने कांग्रेस वृत्तमा चर्चा चल्ने गर्छ ।
पार्टीको सबैभन्दा ठूलो र धेरै सदस्य रहेको भातृ संगठन ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षको कब्जामा जाने संकेत देखिएपछि आरजुले बुढानीलकण्ठ निवासबाटै थैली खोलेको चर्चा कांग्रेसजनमा चल्यो । सोही साँझ मतदातालाई पैसा बाँड्दा बाँड्दै रंगेहात भेटिएको आरोपमा देउवा पक्षका युनियन नेता समातिए ।
कार्यकर्ताहरुमा थैली खुलेको चर्चा चल्नु र देउवा पक्षका नेतामाथि पैसा बाँडेको आरोप लाग्नु संयोग मात्रै हुन सक्छ । तर, ट्रेड युनियनको निर्वाचन परिणामले कांग्रेसमा देउवा पक्ष ‘रेड जोन’ मा पुगेको संकेत दिएको छ ।
यसले अग्रिम महाधिवेशन माग गर्दै आएका शेखर कोइराला जस्ता नेतालाई बल पुगेको छ । त्योभन्दा पनि ठूलो कुराचाहिँ रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष एक ठाउँमा उभिँदा देउवा पक्ष अझ कमजोर बनेको छ ।
यसबीचमा शशांक कोइरालाको कथित तटस्थ भूमिका र शेखर कोइरालाको आफ्नै दौडाहाका कारण पौडेल पक्ष कमजोर बनिरहेको थियो । तर, जनाधार, वाकपटुता र सार्वजनिक छवि राम्रो भएका नेता कार्यकर्ताले नेतृत्व गरेको कृष्ण सिटौला पक्ष देउवाबाट कांग्रेस समाप्त हुने बुझेरै पौडेल पक्षसँग सहकार्य गर्न पुग्यो ।
यी दुई समूहलाई अर्जुननरसिंह केसी र केबी गुरुङ लगायतका नेताको पनि साथ रहेपछि तत्कालीन कोइराला परिवारको संरक्षण र सान्निध्यमा रहेका अधिकांश नेता कार्यकर्ता एकै ठाउँमा आइपुग्ने अवस्था बनेको हो ।
गत महाधिवेशनमा देउवाको महामन्त्री उम्मेदवार बनेका केसी र प्रस्तावक बनेका गुरुङ पनि ‘कांग्रेस बचाउने’ मूल्यमा पौडेल-सिटौला पक्षसँग सम्झौतामा पुगेका छन् ।

