बजारमा कृत्रिम अभाव देखाएर मूल्यबृद्धि गरिएको सांसदहरुको दाबी

३१ जेष्ठ २०७५, बिहीबार ०६:४१

जेठ ३१, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरुले बजारमा कृत्रिम अभाव देखाएर मूल्यबृद्धि गरिएको र सिण्डिकेट कायमै रहेको भन्दै बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको बताए । उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएको भने पनि सिण्डिकेट कायमै रहेको भन्दै प्रभावकारी अनुगमन आवश्यक रहेको बताए ।

नेकपाकै अर्का सांसद् अमनलाल मोदीले बजेट भाषणलगत्तै दैनिक उपभोग्यवस्तुको मूल्य आकासिएको बताए । उनले बजार अनुगमन गरेर मूल्य बढाउनेलाई कारबाही गर्न माग गरे ।

नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले भने सरकार र व्यापारीको मिलेमतोमा बजार भाउ बढाइएको आरोप लगाए ।

सांसदहरुले शून्य समयमा उठाएका विषयको सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ ।