जेठ २९, काठमाडौं ।
‘वीरे दि वेडिङ’ को सफलतापछि बलिउड अभिनेत्री करिना कपुरको डिमान्ड फेरि बढेको छ । तर तत्काल उनले अर्को फिल्म साइन गर्ने छैनन् ।
एक अन्तरवार्तामा करिनाले अब अर्को साल मात्रै नयाँ फिल्म साइन गर्ने बताइन् । छोरा तैमुर सानै भएकाले लगातार फिल्म खेल्न नसक्ने उनको भनाई छ ।
‘मेरो श्रीमान कुनै विजनेसम्यान वा जागिरे होइनन् । उनी बेलुका ५ बजे घर फर्केर छोरा हेर्न सक्दैनन् । त्यसैले मैले छोरालाई समय दिनुपर्छ,’ करिनाले भनिन् ।
उनले श्रीमान सैफ अली खान र आफू एकैसाथ फिल्म नगर्ने सहमति भएको पनि खुलासा गरिन् ।
‘अब हामी पालैपालो फिल्म गर्छौं, एकैसाथ फिल्म गर्दा छोरालाई कसले हेर्ने ?’ करिनाले भनिन् ।
सैफले हाल काम गरिरहेको फिल्म नोभेम्बरमा पुरा हुने छ । सहमतिअनुसार त्यसपछि करिनाको खेल्ने पालो आउने छ र सैफले ब्रेक लिनेछन् । छोरो नहुर्किँदासम्म यही सिलसिला चल्ने छ ।
त्यसो त करिनाले डेढ वर्षको छोरालाई हालै स्कुल भर्ना गरिदिएकी छन् । उनको छोरा तैमुर बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म स्कुलमा हुन्छन् । त्यसपछि घरमा आफूले छोरा हेर्नुपर्ने करिनाको भनाई छ । बुवा वा आमामध्ये एकजना साथमा भएन भने तैमुरले उत्पात मच्चाउने उनले बताइन् ।