काठमाडौंमा दिउँसै गुन्डा अशोक लामा र प्रहरीबीच इन्काउन्टर

२८ जेष्ठ २०७५, सोमबार ०८:५२

जेठ २८, काठमाडौं ।

काठमाडौंको शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।

मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ ।

लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

  • लामा को हुन् ?

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।