भारतबाट स्वदेश फर्कंदै गरेका नेपाली भारतीय सुरक्षाकर्मीबाट कुटिए

२४ जेष्ठ २०७५, बिहीबार ०४:५३

जेठ २४ काठमाडौं ।

सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली नागरिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् । उनको आँखामा चोट लागेको छ ।

दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् ।

नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाको भनाइ छ ।

प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए ।

घट्नापश्चात् भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ ।