जेठ २२, काठमाडौं । एजेन्सी
अमेरिकी सर्वोच्च अदालतले कोलोराडो राज्यका त्यस्ता एकजना केक उत्पादक/बिक्रेताको पक्षमा फैसला गरेको छ, जसले समलिङ्गी विवाहको तयारीमा रहेका एक पुरुष जोडीले वैवाहिक केक बनाइदिन दिएको अर्डर अस्वीकार गरेका थिए ।
सोमवार सर्वोच्चका नौमध्ये सातजना न्यायाधीशको बहुमतले बेकर ज्याक फिलिप्सलाई आफ्नो धार्मिक आस्थासित नमिल्ने काम नगर्न छूट हुन्छ भनेर मुद्दा जिताइदियो । यो फैसलापछि कोलोराडो राज्य तहको अदालतको त्यो फैसला बदर हुन गएको छ, जसले फिलिप्सलाई ‘गैरकानूनी भेदभाव’ गर्दै केक नबनाइदिएको दोष लगाएको थियो ।
कोलोराडोमा मुद्दा चल्दा फिलिप्सले धर्मग्रन्थ बाइबलले अनुमति नदिएको समलिङ्गी विवाहलाई सघाउन आफूले अर्डर अस्वीकार गरेको जिकीर लिएका थिए ।
सर्वोच्चको सोमवारको निर्णयले समलिङ्गी विवाहका पक्षधर समूहहरू भयभीत भएका छन् यद्यपि अदालती आदेश फिलिप्सको मामिलामा मात्र केन्द्रित छ । र, अदालतको निर्णयमा फूलको व्यापार, फोटिग्राफी र अन्य वैवाहिक सेवाहरू प्रभावित हुने कुरा उल्लेख छैन ।
सोमवारको नवीनतम् फैसला सर्वोच्चकै तीनवर्ष अघि समलिङ्गी विवाहलाई मान्यता दिने बहुचर्चित फैसलासित मिल्दोजुल्दो भने देखिँदैन ।
ज्याक फिलिप्सको मामिलामा कोलोराडोको नागरिक अधिकार आयोगले नागरिकको धार्मिक आस्थामा ठेस पुग्ने लवजहरूको प्रयोग गरेकोमा सर्वोच्चले आपत्ति जनाएको हो ।
