जेठ २२, काठमाडौं । एजेन्सी
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच १२ जुनमा पहिलो भेटघाट हुँदैछ ।
यो भेटघाट बिहान ९ बजे राखिएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्स जानकारी दिइन् । सिंगापुरमा एउटा टोलीले तयारीहरूलाई अन्तिम रूप दिइरहेको र वार्ता शुरू हुन्जेलसम्म उक्त टोली त्यहीँ रहने पनि उनले बताइन् ।
ट्रम्पले बैठकअघि उत्तर कोरियाका विषयमा प्रत्येक दिन राष्ट्रिय सुरक्षा ब्रिफिङ लिइरहेका छन् ।
दुवै नेताबीचको बैठक सांग्रिला होटलमा हुन सक्छ । सिंगापुरका अधिकारीहरूले सरकारी गजेटमा अनलाइन प्रकाशित गरेको एक आदेशमा १० जुनदेखि १४ जुनसम्म होटलवरिपरिको क्षेत्रमा अतिरिक्त सुरक्षा उपाय अपनाइने लेखे ।
दुई कोरियाबीचको असैन्यीकृत क्षेत्रमा अमेरिकी राजदूतको प्रतिनिधिमण्डल लगातार कोरियाली समकक्षीसँग वार्तामा रहेको छ । यो कुराकानी सकारात्मक छ र यसमा महत्त्वपूर्ण प्रगति भएको छ ।
अघिल्लो हप्ता ट्रम्पले किमसँगको बैठककै तयारीस्वरूप उत्तर कोरियाका शीर्ष अधिकारी किम योङ–चोलसँग भेटघाट गरका थिए ।

